कालीकाेट । कालीकोटमा युवाको पहुँच, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न जिल्ला स्तरीय तेस्रो युवा भेला सम्पन्न भएको छ । ‘सिर्जनशील तथा उद्यमशील किशोर किशोरी, राष्ट्र परिवर्तनका सम्बाहक’ नारासहित दुई दिनसम्म चलेको भेलाले १५ बुँदे कालीकोट घोषणा पत्र जारी गर्दै युवा सवालमा विशेष ध्यानाकर्षण गराएको छ ।
भेलाले रास्कोटकी सत्या उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय जिल्ला युवा सञ्जाल गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा सान्नी त्रिवेणीकी भावना केसी, सचिव नरहरिनाथका तिलक बिष्ट, सहसचिव रास्कोटका आकाश खड्का, कोषाध्यक्ष भविता सार्की चयन भएका छन् । सदस्यहरूमा तिलागुफाका नरेन्द्र बस्नेत, पचालझरनाका भावना बोहोरा, शुभकालिकाका तविन्द्र नेपाली, खाँडाचक्रका मीमवहादुर मल्ल, रास्कोटका विकास तिरुवा, भरत बुढा, कमल तिरुवा, सपना सिम्खाडा, दमनराज बराल लगायत चयन भएका छन् ।
सञ्जालले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा गौरी कुमारी शाही, मोनिका बुढा, जेनी बम, खिमसरा सिम्खाडा र दिनका शाही रहेका छन् ।
भेलाले युवाका सवालमा काम गर्न तीन वटै तहका सरकारको ध्यानाकर्षण गराउँदै १५ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तथा बरीष्ठ पत्रकार तुलाराम पाण्डेका अनुसार घोषणापत्रमा स्वदेशमै रोजगारी, गुणस्तरीय शिक्षा, अर्थपूर्ण सहभागिता, उद्यमशीलता प्रवर्द्धन, जलवायु परिवर्तन न्यूनीकरण, विपद् व्यवस्थापन, सामाजिक कुरीति न्यूनीकरण तथा युवाका लागि नीति निर्माणलगायतका विषय समेटिएका छन् ।
भेलाले समाजमा व्याप्त बालविवाह, बहुविवाह, जातीय तथा लैंगिक विभेद, लागू औषध दुर्व्यसन जस्ता समस्याविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसैगरी, जलवायु परिवर्तनले परम्परागत रैथाने बालीमा परेको असरलाई दृष्टिगत गर्दै वातावरणमैत्री नीति निर्माण, हरित विद्यालय, हरित सडक र हरित गाउँको अवधारणा अघि बढाउने निर्णय गरिएको आयोजक संस्था हुरेन्डेक नेपाल कालीकाेटका ब्यवस्थापक दिलीपकुमार शाहीले जानकारी दिनुभयाे ।
भेलाको उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय प्रमुख धनजीत बहादुर शाहीले युवाहरूलाई उद्यमशील बनाउन आफ्नै गाउँठाउँमा स्वरोजगार बन्न प्रेरित गर्नुभयाे । उहाँले विगतमा भारतमा ज्याला मजदुरी गर्न जाने प्रवृत्ति रहेकोमा पछिल्लो समयमा खाडी मुलुकहरूमा रोजगारीका लागि जाने क्रम बढेको बताउनुभयाे । उहाँले आफ्नै भूमिमा बसेर कृषि तथा अन्य उद्यममा लाग्न सुझाव दिनुभयाे ।
रास्कोट नगरपालिकाका उप प्रमुख मनिराज बरालले युवा मैत्री नीति निर्माण गर्न स्थानीय सरकार सकारात्मक रहेको बताउनुभयाे । उहाँले युवालाई आत्मनिर्भर बनाउन सीप विकासका तालिम तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयाे ।
प्लान इन्टरनेशनलका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले परिवर्तनका सम्बाहकका रूपमा किशोर किशोरी सशक्त हुँदै गएको उल्लेख गर्नुभयाे । समाज रूपान्तरणमा युवावर्गको सक्रियता महत्वपूर्ण हुने भन्दै उहाँले युवालाई नीति निर्माण तहमा प्रतिनिधित्व गराउनुपर्ने आवश्यकता औंल्याउनुभयाे ।
भेलामा सहभागी युवाहरूले जिल्लाका प्रमुख सरोकारवालाहरूसँग आफ्ना मुद्दा प्रस्तुत गर्दै जवाफ माग गरेका थिए । जिल्लाका ९ वटै स्थानीय तहबाट आएका ४५ जना युवा तथा ३० जना अन्य सरोकारवालासँग अन्तरक्रिया गर्दै युवाका सवालबारे छलफल गरिएको थियो ।
जिल्ला समन्वय समितिको समन्वय, प्लान इन्टरनेशनलको सहयोग र हुरेन्डेक नेपालको आयोजनामा सम्पन्न भेलामा किर्डाक नेपाल, सादा, जिल्ला युवा सञ्जाल लगायतले सहकार्य गरेका थिए ।
मान्मस्थित होटल सनलाइटको सभा हलमा आयोजित भेलाले युवा सशक्तिकरणका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्मको दबाब सिर्जना गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । घोषणापत्रमार्फत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई युवाका सवालमा सक्रिय हुन आग्रह गर्दै युवाहरूको हक, अधिकार र अवसर सुनिश्चित गर्न ठोस कदम चाल्न जोड दिइएको छ ।