पुग्यो ६ हजार घरमा खानेपानी

पुग्यो ६ हजार घरमा खानेपानी

कालीकोट जिल्लाका ६ हजार घरमा खानेपानी पहुँच पुगेको छ। जिल्लाका पाँचवटा स्थानीय तहका ६ हजार ६ सय ५८ घरधुरीमा ‘एक घर एक धारा’ निर्माण गरिएको हो। जिल्लाको नरहरिनाथ, सान्नित्रिवेणी, शुभकालिका गाउँपालिका तथा खाँडाचक्र रास्कोट नगरपालिकामा ८० वटा खानेपानीका बृहत् योजना सम्पन भएका छन्। खाँडाचक्र नगरपालिकामा ७ योजना सकिँदा ६ सय ७५ धारा निर्माण भएका छन्। रास्कोट नगरपालिकामा १६ योजनामा एक हजार चार सय ३२ धारा निर्माण भएका छन्।

यस्तै नरहरिनाथ गाउँपालिकामा ३३ वटा योजना सकिँदा दुई हजार ६ सय २८ धारा निर्माण भएका छन्। शुभकालिका गाउँपालिकामा २२ योजना सकिँदा एक हजार सात सय ७९ धारा र सान्नित्रिवेणी गाउँपालिमा दुईवटा योजना सकिँदा एक सय ६२ धारा निर्माण भएको हुरेन्डेक नेपाल कालीकोटका जिल्ला व्यवस्थापक दिलिपकुमार शाहीले बताए। खानेपानी क्षेत्रको राष्ट्रिय नीतिका रूपमा ल्याइएको ‘एक घर एक धारा’ नीतिलाई खानेपानीको सुविधा उपलब्ध गराउने गरी महत्वपूर्ण रणनीतिक कदमअनुरूप समुदायमा धारा निर्माण गरेको उनको भनाइ छ। ‘एक घर एक धारा’ नीतिको सफल कार्यान्वयनले आयोजनाप्रति उपभोक्ताको अपनत्व अभिवृद्धि भई आयोजना दिगो रूपले सञ्चालन गर्न सहयोग पुग्ने हेल्भेटास नेपालका वास अधिृकत चन्द्रप्रकाश केसीले बताए।

कालीकोटमा यो वर्ष १५ वटा खानेपानीका ठुला योजना निर्माणाधीन अवस्थामा छन् भने उक्त योजनामा सबै क्षेत्रको कुल ६ करोड ८८ लाख नौ हजार एक सय १० रूपैया बजेट खर्च लाग्ने हुरेन्डेक नेपालले जनाएको छ। सन् २००८ देखि हाल २०२५ सम्म आउँदा हेल्भेटास नेपालको सहयोगमा हालसम्म ‘एक घर एक धारा’ निर्माण गरी पाँचवटै स्थानीय तहमा एक सय १० योजना सम्पन्न भएका छन् भने २४ करोड १४ लाख ७१ हजार एक सय ९८ रूपैयाँ खर्च भएको छ। सात हजार पाँच सय ४५ धारा निर्माण गरिएको हुरेन्डेक नेपालका प्रमुख कार्यकारी तथा सामाजिक अभियन्ता जजराज शाहीले बताए। एकीकृत जलस्रोत व्यावस्थापन कार्यक्रम (वाम्पी) हेल्भेटास नेपाल र कार्यक्रम लागु भएका स्थानीय तहको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटको प्राविधिक, सामाजिक सहयोग तथा साझेदारीमा पाँचवटै स्थानीय तहमा सम्पन्न योजनामा समुदायको श्रमदान तीन करोड ९२ लाख ७२ हजार चार सय ७९ यस्तै पालिकाको लगानी तीन करोड ४२ लाख ९७ हजार एक सय ४८ रूपैयाँ र हेल्भेटास नेपालको सात करोड ४२ लाख १३ हजार नौ सय ८१ गरी जम्मा १४ करोड ७७ लाख ८३ हजार ६ सय आठ रूपैयाँ खर्च भएको हुरेन्डेक नेपालका कार्यक्रम संयोजक नरेश दर्जीले बताए।

Source:https://nagariknews.nagariknetwork.com/social-affairs/1468714-1742274436.html